काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ। पार्टीको विधान मस्यौदा समितिले केन्द्रीय कमिटी घटाएर १५१ सदस्यीय बनाउन प्रस्ताव गरेको हो।
उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समिति प्रस्तावमाथि शनिबारदेखि स्थायी कमिटी बैठकमा छलफल हुने समितिका सदस्य गणेश साहले जानकारी दिए।
माओवादीमा अहिले ७ सयभन्दा धेरै केन्द्रीय सदस्यहरू छन्। गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटी घटाएर दुई अंकको बनाउने बताएका थिए।
केन्द्रीय विभागहरू घटाउने र एउटा विभागमा बढीमा १५ जना सदस्य राख्न समेत प्रस्ताव गरेको छ।
माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ। सम्मेलनअघि विधान मस्यौदाबारे देशभर छलफल गर्ने पार्टीले जनाएको छ।


