ढोरपाटन (बागलुङ)- पढाइको अर्थ किताबी किरो हुनु मात्र होइन्। पढ्नु भनेको जान्नु हो, सिक्नु हो। हाल अध्ययनको अतिरिक्त केही पनि नगर्ने नगराउने चलन बढ्दो छ। तर, बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भने अध्ययनको अतिरिक्त पञ्चेबाजा सिकाइमा जुटेका छन्।
कक्षा २ देखि १० सम्मका छात्र छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन्। विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए। विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको समय सिकाउनेसमेत गर्दै आएका छन्।
कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउछन्। कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछन् भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन्। कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार (ख)ले दमाहा बजाउने गरेका छन्। उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिए। पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ।
“पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए, अहिले युवाले बजाउन लाज मान्छन्, बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्”, शिक्षक थमबहादुरले भने, “मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ, नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ।”
बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताइन्। सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ। सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताइन्। अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ।
विद्यालयमा बाजा बजाउने अधिकांश छ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन्। प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान सुरु गरेको जानकारी दिए। अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ। विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए।


