काठमाडौँ- तराईका जिल्लामा बढ्दै गएको शीतलहरका कारण बिरामी हुनेको संख्या बढेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशक डा. राजीव झाका अनुसार लम्बिँदै गएको शीतलहरका कारण कोल्ड डाइरिया, भाइरल ज्वरो, क्रोनिक कफ, रुघाखोकी, श्वासप्रश्वास, हाडजोर्नी जस्ता बिरामी बढ्न थालेका छन्।
झापा, मोरङ र सुनसरीमा शीतलहर र बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि जाडो बढेको छ। चिसो बढेसँगै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होमलगायत स्थानीय अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको छ।
पूर्वाञ्चल विश्वविद्यालय अस्पतालका निर्देशक डा.शशी शर्मा रिजालका अनुसार चिसोका कारण निमोनिया, कोल्ड डाइरिया, रुघाखोकी, ज्वरोका बिरामी बढेका तथा दम, पक्षाघात रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
विराटनगरका साथै सुनसरीको इटहरी, झुम्का, इनरुवा, दुहबीलगायत विभिन्न स्थानका गल्ली गल्ली र चोक चोकमा आगो तापेर बसिरहेका मानिस भेटिन्छन्। सुनसरीको इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले एक सातादेखि विद्यालय बिदा दिएका छन्।
विराटनगर विमानस्थलबाट हुने नियमित उडानसमेत प्रभावित हुँदै आएका छन्। अधिक चिसो बढेपछि त्यसको प्रभाव व्यापारिक क्षेत्रमा पनि परेको छ। बजार सुनसान हुन थालेको छ।
धनगढीमा स्थानीय बासिन्दा आगोको भरमा बाँचिरहेका छन्। धनगढी उपमहानगरपालिका–१, शिवनगरकी मायादेवीले आगोको भर पर्नु परेको गुनासो गर्दै उपमहानगरपालिकाले दाउरा दिएर गएपछि केही राहत भएको बताइन्।
जाडोका कारण पठनपाठन प्रभावित हुन थालेपछि विद्यालयमा जाडो बिदा दिइएको छ। चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनिया, बालबालिकालाई भाइरल डाइरिया हुने, रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या हुने गरेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा. शेरबहादुर कमरले बताए।


