काठमाडौँ- चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औँ संस्करण आजदेखि सुरु हुँदैछ। पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन्।
२०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन्। जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ।
आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए। त्यसबेला थ्रीस्टारले सहारालाई १–० ले हराएको थियो। त्यसअघि २०६३ को पाँचौं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पनि दुवै टिम प्रतिस्पर्धा गरेका थिए। जसमा आयोजक सहारालाई थ्रीस्टारले ३–० ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो।
नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन्।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन्। प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए।


