काठमाडौँ- लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको भारतले समूह चरणको सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको समूह चरणको अन्तिम खेलमा सिरियाविरुद्ध १-० ले पराजित भएसँगै भारतले सबै खेल हारेको हो ।
ओमार ख्रिबिनको ७६औं मिनेटको गोलको मद्दतले सिरियाले जित दर्ता गरेको हो। भारतले भने तीनै खेलमा एक गोल समेत गरेन भने ६ गोल खान पुग्यो।
मंगलबारको खेलमा भारतले जित हासिल गर्न सकेको भएमा तेस्रो स्थानमा रही अन्तिम १६ मा पुग्ने सम्भावना जीवित रहन्थ्यो। तर हारसँगै त्यो सम्भावना पनि सकिएको हो
एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने समीकरण रहेको छ।
यस्तै सोही समूहको अर्को खेलमा आज अस्ट्रेलिया र उज्वेकिस्तान १-१ को बराबरी खेल्दै क्रमश: पहिलो र दोस्रो हुँदै नकआउटमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
अस्ट्रेलियाले ३ खेलमा ७ अंक हासिल गर्यो भने उज्वेकिस्तानले ५ अंक बटुल्यो। सिरिया ४ अंक सहित तेस्रो रह्यो।
सिरियाले अन्तिम १६ मा आफ्नो स्थान पक्का भए-नभएको थाहा पाउनका लागि समूह चरणको अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ।
एसियन कपमा समूह सी का दुई खेल आज नै हुँदै छन्। ८:४५ बजे हङकङ र प्यालेस्टाइन भिड्दा इरान र युएई पनि एक अर्कासँग भिड्ने छन्।


