काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो।
सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन्।
सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन्। साझेदारीसँगै टीबीसीका विद्यार्थीले सेनेकामा ‘क्रेडिट ट्रान्सफर’को सुविधा प्राप्त गर्नेछन्।
‘विद्यार्थीहरुलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएको छ,’ औपचारिक रुपमा सहकार्यको सम्झौता भएपछि उत्साह प्रकट गर्दै ब्रिटिस कलेजका सीईओ कँडेलले भने, ‘उत्कृष्टता र नवीनताको लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीको लागि यो एउटा ऐतिहासिक साझेदारी हो।’
सम्झौताले विद्यार्थीहरुलाई क्यानडाको जीवन्त संस्कृति र विश्वस्तरिय शिक्षा प्रणालीको लागि एक्पोजर प्रदान गर्नुको साथै दुई संस्थाहरुबीचको सम्बन्धलाई बलियो बनाउने र सांस्कृतिक आदान–प्रदानसँगै अनुसन्धान तथा विकासलाई समेत बढावा दिने कलेजको विश्वास छ।


