काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन्। शिष्टाचार भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटसँगको भेटमा यस्तो बताएका हुन्।
आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै ब्रोकेटले उक्त कार्यका लागि सहयोगको अपेक्षा गरेका थिए। ‘हामी दुई नगरका जनताको सम्बन्ध वृद्धि हुने क्रियाकलापलाई जोड दिन चाहन्छौँ,’ भेटका क्रममा काठमाडौँ महानगरका प्रमुख शाहले भने।
सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने विश्वास लिइएको छ। भेटका क्रममा ब्रोकेटले, नगरबिचको भगिनी सम्बन्धबाट जनताहरु आपसमा नजिक हुने बताएका थिए। ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणासमेत दिएका थिए।
दुई नगरबीचमा २०७६ बैशाख २९ गते (सन् २०१९ मे १२) भगिनी सम्बन्ध स्थापना भएको थियो। भेटका क्रममा दुई नगरका प्रमुखहरुले हस्ताक्षर गरेर सम्बन्ध नवीकरण गरेका थिए।
‘काठमाडौँ र बोल्डर नगरका जनताहरुको आपसी र पारस्परिक सहयोग प्रवर्धन र सुदृढ बनाउने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आपसी क्रियाकलाप आदानप्रदान तथा सञ्चालन हुने बताइएको छ। आपसी कार्यक्रमलाई समन्वय गर्न भगिनी सम्बन्ध समितिहरु हुनेछन्,’ नविकरण पत्रमा उल्लेख गरिएको छ ।
भेटका क्रममा ब्रोकेटका पत्नी चेरी ब्रोकेट, महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइराला, काठमाडौँ बोल्डर सिस्टर सिटी प्रोजेक्टका अध्यक्ष नारायण श्रेष्ठलगायत सहभागी थिए।
काठमाडौँ महानगरपालिकासँग अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ। यसरी भगिनी सम्बन्ध भएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन्।
काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो। चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो। यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ।


