काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।
देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


