काठमाडाैं- लिभरपुल योर्गेन क्लोपले आफ्नो निर्णय सुनाएपछि हैरान छ। किनकी क्लोप चालू सिजनको अन्त्यसँगै क्लबमा रहने छैनन्। क्लोपले आफ्नो फैसला बारे भनेका छन्, ‘म बुझ्न सक्छु यो समयमा धेरै मानिसहरुलाई झट्का लागेको छ।’
शुक्रबार बिहान उनले गरेको घोषणाले पुरै फुटबल जगतलाई आश्चर्यचकित बनायो। कसैले सोचेको थिएन-क्लोपले अपर्झट यस्तो निर्णय लिनेछन्। क्लोपले जसरी एन्फिल्डमा टिम बिल्डअप गरेका थिए, उनको यस्तो निर्णय कल्पना भन्दा बाहिरको कुरा थियो।
पछिल्लो सिजनमा आफ्नो पुरै मिडफिल्डमा परिवर्तन गरेपछि पनि लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा छ। अहिलेसम्मको स्थिती हेर्दा लिभरपुल उपाधिको सबैभन्दा बलियो दाबेदार हो। तर क्लोपको आफ्नै तर्क छ। उनले भनेका छन्- मेरो उर्जा सकिँदै गएको छ। उनको यो प्रतिक्रियाले बुझ्न सकिन्छ-२०१५ मा क्लब सम्हालेपछि क्लबमा उनले कति उर्जा खर्च गरे।
क्लोप समर्थकको खुसी चाहान्थे
लिभरपुलकाप्रति क्लोपको माया बहुत वास्तविक थियो। उनले एन्फिल्ड टेके लगत्तै यो स्पष्टरुपमा देखिएको थियो। लिभरपुलका समर्थकले पनि उनलाई खुब माया गर्थे। क्लोपकाप्रति लिभरपुलका समर्थको माया सदैव रह्यो। उनी केवल मानिसहरुलाई खुसी बनाउन चाहान्थे। सोही कारण उनी थाके। आफ्नो प्रसिद्धिको भार उनले थामिरहन परेको थियो।
गत सिजनमा उनी धेरै पटक थकित देखिएका थिए। नतिजा पनि उनको योजना अनुरुप आइरहेको थिएन। उनी बेचैन देखिन्थे। केही प्रश्नको जवाफ दिँदा उनी संवेदनशील देखिन्थेनन्। यसअघि सम्हालेका जर्मनीका २ क्लबमा पनि उनले सात वर्ष भन्दा धेरै काम गरेका थिएनन्। सोही कारण चर्चा थियो-उनले कुनै पनि बेला मर्सीसाइडमा आफ्नो इतिहास आफैंले दोहोर्याउनेछन्।
क्लोप प्रि-सिजन सकाएर फर्किँदा रिफ्रेस देखिन्थे। सन् २०२३-२४ को सिजनमा लिभरपुल ट्रफी विहिन बनेको थियो। तरपनि क्लोपले टिमलाई लयमा फर्काएका थिए। उनको आशावाद र विश्वासकै कारण टिमले शानदार प्रदर्शन गरेको थियो। उनले सबै चिजलाई ‘च्याम्पियन’ जसरी याद दिलाउँथे। क्लोपले लिभरपुलमा अथक मेहनत गरेका थिए। त्योसँग भावना जोडिएको थियो।
पर्दा पछाडीको समस्या
क्लोपको निर्णय यसकारण पनि आश्चर्यचकित बनाउने खालको थियो, यस सिजन उनी आफ्नो पुरानैरुपमा देखिएका थिए। उनमा थकान र बेचैनीको कुनै संकेत देखिएका थिएनन्। तरपनि पर्दा पछाडीको समस्याका कारण उनी असन्तुष्ट बनेको हुन सक्छ।
पछिल्ला केही वर्षयता हस्तीहरुले क्लब छोडे। ट्रान्सफर मार्केटमा क्लोपको रणनीतिलाई फेनवे स्पोर्ट्स ग्रुपले वेवस्ता गरेको चर्चा चलिरहेको थियो। सोही कारण क्लोपका सामु सिजनको अन्त्यमा क्लब छोड्नुको विकल्प थिएन। तर, उनले लिभरपुललाई रित्तो छाडेका छैनन्, धेरै चिज छाडेर जाँदैछन्।
लिजेन्डरी प्रशिक्षक
क्लोप क्लबको इतिहासका सबैभन्दा महान प्रशिक्षक मध्येका एक हुन्। उनलाई लिभरपुलका लिजेन्डरी प्रशिक्षककारुपमा याद गरिनेछ। उनले एक अस्तव्यस्त क्लबलाई विश्वको सर्वश्रेष्ठ क्लबकारुपमा रुपान्तरण गरिदिए। भलै यो यात्रामा ठूलो धनराशी खर्च भयो। तर क्लोपले क्लबमा भित्र्याएका हरेक खेलाडीले अद्भुत काम गरे।
एनफिल्डसँधै क्लोपसँगै झुम्ने गर्थ्यो। उनको रणनीति र टचलाइनमा उनको हाउभाउ निकै रोमाञ्चक हुन्थ्यो। जसलाई लिभरपुलका समर्थकले सँधै याद गर्नेछन्।
उनले लिभरपुलमा जे गरे, जसरी उनी बाहिरिँदैछन्। उनको अनुपस्थितीमा एउटा शून्यको स्थिति पैदा हुनेछ। जसलाई भर्नु लगभग असम्भव हुनेछ। तर उनी भने क्लबको त्यो मुकाम कायम रहेको हेर्न चाहान्छन्। ‘आउनुस्, यसका लागि अघि बढ्नुहोस्,’ उनले भनेका छन्।
खेलाडी र प्रसंशकले पक्कै पनि उनको आव्हानलाई सुन्नेछन्। क्लोपलाई थाहा छ, प्रतिद्वन्दीहरुले उनको यो निर्णयलाई खुसीका साथ स्वागत गर्नेछन्। ‘बाहिरी दुनियाँले मेरो यो निर्णयलाई उपयोग गर्न खोज्नेछ।’ उनको यो सटिक र सत्य टिप्पणी हो। किनकी विपक्षी समर्थकलाई थाहा छ, क्लोपले ९ वर्षमा लिभरपुलमा के गरे?
समर्थकलाई जुन दिनको डर थियो!
जुन बेला चालू सिजन सकिनेछ, क्लोपलाई एनफिल्डमा भावनात्मक विदाई गरिनेछ। क्लोपले एनफिल्डमा सुखद् अन्त्य गर्न चाहेका छन्। जसको उनी हकदार पनि हुन्। उनले आफ्नो निर्णय सुनाउनुअघि नै वेम्बलीमा एक फाइनलको तयारी गरिसकेका छन्। अर्को महिना लिग कपको फाइनलमा क्लोपको टिमले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। जहाँ लिभरपुलका समर्थकले क्लोपका प्रति आभार व्यक्त गर्ने अवसर पाउनेछन्। जतिबेला लिभरपुलका समर्थकले क्लोपप्रति आभार व्यक्त गरिरहेका हुन्छन्, ठ्याक्कै त्यही बेला उनीहरु निकै चिन्तित पनि हुनेछन्। किनकी उनीहरुको मनमा एउटा प्रश्नले डेरा जमाउनेछ। त्यो प्रश्न हुनेछ- अब के हुन्छ?
यो सत्य हो, सबै चिज स्थायी हुँदैन। क्लोपले भनेका छन्-लिभरपुलका समर्थकले यसअघि यो भन्दा खराब समय गुजारिसकेका छन्। त्यो खराब समयबाट उनीहरु अघि बढिसकेका छन्। उनले थपेका छन्-अन्ततः यो एक न एक दिन यो हुने नै थियो।
तरपनि सायदै कसैले सोचेको थियो-यो दिन यति चाँडै आउनेछ। यो लिभरपुलका समर्थकका लागि झट्का मात्रै होइन; दुर्घटना हो।
-गोल डटकमबाट


