भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यू-१९ नेपाली क्रिकेट टोलीका क्याप्टेन देव खनाललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ। शुक्रबार सम्पन्न आइसिसी यू–१९ विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै सुपर-६ मा प्रवेश गराउन महत्वपूर्ण योगदान गरेको भन्दै खनाललाई सम्मान गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।
अफगानिस्तानविरुद्धको खेलमा खनालले अर्धशतक प्रहार गरेका थिए। देवले ८९ बलमा ७ चौकासहित ५८ रन बनाएका थिए। देवलाई अफगानिस्तानका एएम गाजान्फरले ३६.३ ओभरमा आउट गरेका थिए। विश्वकपमा देवको पहिलो अर्धशतक थियो।
तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार खनाल तिलोत्तमा नगरपालिकाका बासिन्दा भएको र उनको कप्तानीमा खेल सुपर ६ मा प्रवेश गरेकोले सम्मान स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय भएको हो।
यसअघि पनि तिलोत्तमा नगरपालिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाई विजयी बनाउन भूमिका निर्वाह गरेका कुशल भुर्तेल, देव खनाल र मौसम ढकाललाई जनही ५० हजार नगद सहित सम्मान गरेको थियो।
नेपालले समूह ‘डी’को अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह ‘डी’मा तेस्रो बन्दै सुपर–६ मा पुगेको हो।
अफगानिस्तानसँग रोमाञ्चक जित निकाल्ने क्रममा नेपालले १४६ रनको लक्ष्य ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको थियो।
अफगानिस्तानलाई पराजित गर्दै विश्वकपको ‘सुपर सिक्स’मा पुग्यो नेपाल


