काठमाडौँ- आहारारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन्। पोखरामा जारी खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ।
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो।
आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ। २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो।
तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्यो। मनाङमर्स्याङ्दीले जावलाखेललाई २–० ले उपाधि जित्नबाट रोकेको थियो।
जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो। हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ।
पोखरा मनाङमर्स्याङ्दीको राम्रो समर्थक भएको ठाउँ पनि हो । पोहोर ए डिभिजन लिगमा मनाङमर्स्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डसमेत घोषणा गरेको थियो । आहाराराको क्वार्टरफाइनलमा मनाङमर्स्याङ्दी निशान लिम्बुको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।
यता, जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र डेब्यु गर्न बाँकी गोल रक्षक अनिश देउलाले गोल पोस्टको रक्षा गर्दैछन् । मछिन्द्रलाई प्रिक्वार्टरफाइनलबाटै फिर्ता पठाउन हिसुबले निर्णायक गोल गरेका थिए ।


