काठमाडौँ ‘आहारारा पोखरा गोल्डकप’मा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदै छ। पोखरामा जारी गोल्डकपमा आज चर्च ब्वाइज र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा रहेका छन्। खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ।
नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनल प्रवेश गरेको थियो।
आहारारामा चर्च ब्वाइज र नेपाल पुलिसको यो दोस्रो भेट हो। पोहोरको संस्करणमा पनि क्वार्टरफाइनलमै नेपाल पुलिस र चर्च ब्वाइज भिडेका थिए।
अघिल्लो संस्करणदेखि आहारारा पोखरा गोल्डकपमा डेब्यु गरेको चर्चब्वाइजले आफ्नो पहिलो सहभागितामै नेपाल पुलिसको सामना गरेको थियो। जसमा आफ्नो डेब्यु खेलमै चर्चब्वाइजले सर्वाधिक (६ पटक) विजेता नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको थियो।
विभागीय टिम नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी टिम पनि हो। पुलिसले ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ।


