राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेकाे छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठकाे सदस्यता खारेज गर्ने निर्णय गरेकाे हो।
रास्वपाबाट समानुपातिक सांसद निर्वाचित ढाकाले सांसद पद पनि गुमाउने भएका छन्।
पार्टीको बैठक चलिरहेका बेला कार्यालयमा पत्रकार सम्मेलन गरी श्रेष्ठले अडियो सार्वजनिक गर्नेका विरुद्ध अदालत गइसकेको बताएका थिए।
‘म हिजो मात्रै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तहरू, तपाईंहरू निश्चिन्त हुनुहोला, म न्यायालयमा आफ्ना कुरा राखेर क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु,’ उनले भने ।
उनले आफूलाई फसाइएको दाबी गरेका थिए। ‘मलाई फसाइएको हो। अदालतबाट क्लिन चिट लिएर आउँछु। तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला,’ उनले भने।
आफूलाई फसाइएको दावी गरेका श्रेष्ठले विरोधाभास पूर्ण कुरा गरेका छन्। उनले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताए।
आइतबार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो। सोमबार उनै दुर्गासँग आफूलाई जोगाउन सहयाेग माग्दै ढाकाले आफ्ना भाइलाई फोन गर्न लगाएका थिए। दुवै अडियो कपुरबोट टिभिले सार्वजनिक गरेको थियो।


