काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। बढीमा १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नथाले आन्दोलनमा उत्रने चेतावनीसमेत बारले दिएको छ।
जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्यायप्रणाली सुधारका लागि आफूले सक्दो भूमिका खेल्ने जानकारी दिएका थिए।



