काठमाडौं- बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले यदी जाभी हर्नान्डेजको ठाउँमा अरु कोही प्रशिक्षक भएको भए आफूले बर्खास्त गरिसक्ने बताएका छन्। उनले क्लबका पूर्वकप्तान जाभीले प्रशिक्षण सम्हालेका कारण उनलाई बर्खास्त नगरिएको बताएका हुन्। यद्यपी जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा यसअघि नै गरिसकेका छन्।
जाभीले अघिल्लो सिजनमा ला लिगा जिताएका थिए। उनले हालै भिल्लारियलसँग घरेलु मैदानमा ५-३ गोलको पराजय भोगेपछि क्लब छाड्ने घोषणा गरेका थिए। क्लब छाड्ने निर्णय सुनाउँदै जाभीले क्लबमा आफ्ना उपलब्धिहरुलाई आलोचकहरुले आत्मसाथ गर्न नसकेको गुनासो समेत गरेका छन्।
चालू सिजनमा बार्सिलोना खराब लयबाट गुज्रिरहेको छ। ला लिगाको अंक तालिकमा बार्सिलोना चौथो स्थानमा छ। लिग लिडर रियल मड्रिडसँग उसको अंकदुरी १० पुगिसकेको छ। यद्यपी अघिल्लो सिजनमा च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको बार्सिलोनाले यसपटक अन्तिम १६ मा स्थान बनाएको छ।
यस्तो स्थितीमा आरसी १ सँगको अन्तर्वार्ताका क्रममा लापोर्टालाई जाभीलाई बर्खास्त गर्ने विचार गर्नुभएन भएन? भन्ने प्रश्न गरिएको थियो। जवाफमा उनले भनेका छन्, ‘यस्तो विचार मेरो दिमागमा कहिलै आएन। तर जाभीका ठाउँमा अन्य प्रशिक्षक भएका भए म यस्तो नतिजा स्विकार्न सक्दिनँ थिएँ। भिल्लारियलसँगको हारपछि जाभीले मलाई आफ्नो निर्णय सुनाए। मैले यस्तो निर्णयको कहिलै कल्पना गरेको थिइनँ।’
उनले जाभी एक इमान्दार व्यक्ति भएको बताए। ‘उनी एक इमान्दार व्यक्ति हुन्। उनले बार्सिलोनालाई माया गर्छन्। म निकै दबावमा थिएँ। यस्तो स्थितीमा उनले क्लब छाड्ने निर्णय लिए। यो क्लबका लागि राम्रो हो,’ उनले भनेका छन्।
लापोर्टाले जाभिको उत्तराधिकारी खोज्ने जिम्मा खेल निर्देशक डेकोलाई दिएको बताए।


