काठमाडौँ- फागुन महिनामा मात्र ५ लाख १० हजार मोबाइल बैंकिङ प्रयोगकर्ता घटेको नेपाल राष्ट्र बैंकको विवरणले देखाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले फागुन महिना मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या ५ लाख १० हजार ८५७ ले घटेको तथ्याङ्क सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षको माघ महिनामा २ करोड ३६ हजार ५२४ मोबाइल बैंकिङ प्रयोगकर्ता थिए। यो तथ्यांक फागुन महिनामा १ करोड ९५ लाख २५ हजार ३९७ झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने क्रम बढेकाले मोबाइल बैंकिङ प्रयोगकर्ता पनि घट्दै गएको देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ। मर्जर वा प्राप्तीपछि कम्तीमा दुई बैंकका सबैखाले ग्राहक एक बैंकमा आउने हुँदा मोबाइल बैंकिङ सेवा प्रयोक्ताको पनि संख्या कम भएको देखिएको विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडलले नेपाल क्लिक्सलाई बताए।
मर्ज तथा प्राप्तिपछि बैंक खातामा रहेको डुप्लिकेसन हटाएर एउटै मोबाइल बैंकिङ खाता कायम गर्दै आएका छन्।
‘वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तीमा गएर पछिल्लो समय २१ वटा वाणिज्य बैंक कायम भएको छ। दुई बैंकहरु मर्ज भएर एउटै संस्था भएपछि दुवै बैंकमा रहेका खातालाई एउटै बनाउने काम गरिएको छ। दुवै बैंकमा रहेका खाताको डुप्लिकेसन हटाएपछि मोबाइल बैंकिङ पनि एउटै भयो। वास्तवमा डुप्लिकेसन मात्र हटेको हो। वास्तविक मोवाइल बैंकिङका प्रयोगकर्ता घटेको होइन,’ पौडेलले भने। एउटै प्रयोगकर्ताको दुई वा दुईभन्दा बढी बैंकमा खाता खोलेर मोवाइल बैंकिङ प्रयोग गरेकाले डुप्लिकेसन हुन्छ तर वास्तविक प्रयोगकर्ता भने बढ्दैन।
अहिले लक्ष्मी बैंक र सनराइज बैंक मर्जको प्रक्रियामा रहेकाले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या अझै घटेर आउन सक्ने उनको अनुमान छ।
पछिल्लो १ वर्षयता नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएको छ। कुमारी बैंकले एनसीसी बैंकलाई एक्वायर गरेको छ। यस्तै, हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्त गर्दा प्रभु बैंकले र सेञ्चुरीलाई गाभेको छ। ग्लोबल आइमई बैंकले बैंक अफ काठमाण्डुलाई गाभेको छ।


