काठमाडौं– नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको हो।
जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो।
कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो।
जिततर्फ अघि बढेको क्यानडाको अन्तिम विकेटको रुपमा रहेका इशवरजोत सोहीलाई रोहितले बोल्ट गरेका थिए।
त्यसअघि निकोलस कृतनले ६८ र प्रगत सिंहले ५० रन बनाउँदै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए। हर्श ठाकरले ३२ र ओपनर आरोन जोनसनले २० रनको योगदान गरेका थिए। क्यानडाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका लागि डेब्यु खेलमा रिजन ढकालले एक विकेट लिए। कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट झारेका थिए। सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट लिए।
त्यसअघि, कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो।
ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन्।
आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८ रनमा गुमाएको नेपालले भिम सार्कीलाई १७ रनमा गुमाएको थियो। कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए।
पवन सरार्फले १५, सोमपाल कामीले २७, रिजन ढकालले ४ र ललित राजवंशीले १ रन बनाए। सुर्य तामाङ १० रनमा नटआउट रहे। नेपालको राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका थिए।
क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए। साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे।
घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो।
सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ।


