बागमती- गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको ६ महिनामा ७६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ। कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरेको हो।
५ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले ६ महिनाका अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, २ हजार ५१६ व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने ७८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ। कार्यालय प्रमुख मनिषकुमार दासले सो अवधिमा १५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, ४८६ वटा पम्पको ‘नोजल ’जाँच तथा ६६ वेव्रिजको जाँच गरिएको बताइएको छ।
साथै सो अवधिमा २८८ ट्याङ्करको हेटौँडामा जाँच समेत गरिएको थियो। त्यस्तै सो अवधिमा कार्यालयका कर्मचारीहरुबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो। सो कार्यबाट ७३ लाख ७ हजार ८५९ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए।


