सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ।
कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको छ महिनामा १ हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन्।
गत आव २०७९/०८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ।
चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई सय ७३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिए। जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हुँदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन्।
त्यसैगरी, दैलेखबाट १७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताए।
यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट ११७ वटा, कालीकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन्।
सूचना अधिकारी गौतमअनुसार गत वर्षका ९४४ र चालु आवका १ हजार ९५ गरी कूल २ हजार ३९ उजुरी छन्। तीमध्ये ५४९ उजुरीको टुङ्गो लागेको छ भने १ हजार ४९० उजुरीको टुङ्गो लाग्न बाँकी रहेको छ।
स्थानीय र प्रदेश सरकारका आयोजनाका अनियमिततासम्बन्धीका उजुरी बढ्दै गएको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिए। आयोगले आफ्नो ३३ औँ स्थापना दिवस सुर्खेतमा पनि मनाएको छ।


