काठमाडौँ- एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत जारी तेस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा खेलको ४.५ ओभरमा नेपालले पहिलो विकेट गुमाएको हो।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाका डेलियन हेलिगरले नेपालका कुशल भुर्तेललाई आउट गराएका हुन्। यो समाचार तयार पार्दाको समयमा नेपाल १ विकेटको क्षतिमा ११ ओभर खेलेर ६९ रन जोड्न सफल भएको छ।
खेलमा नेपालको इनिङ सुरु नहुँदै ५ रन पुरस्कार पाएको थियो। पहिलो इनिङको अन्तिमतिर क्यानडाका कप्तान साद विन जफर पीचमा हिँडेको भन्दै अम्पायरले नेपाललाई इनिङ सुरु नहुँदै ५ रन पुरस्कार दिएका थिए।
जफरले पहिलो इनिङको ४९औं ओभरको अन्तिम बलमा पीचको मध्य भागबाट कुदेर रन जोडेका थिए।
क्यानडाका कप्तान जफरले बारम्बारको चेतावनी नमानेपछि अम्पायरले विपक्षी टोली नेपाललाई पेनाल्टी रन दिएका हुन्। क्रिकेटमा पिचको मध्यभागमा दौडन पाइँदैन ।
क्यानडाका लागि नवनीत धलिवालले अर्धशतक प्रहार गरे। उनी ५० रन बनाएर आउट भए।
आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिएका थिए। ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए। कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए।
क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज यसअघि नै दुई खेल जित्दै नेपालले आफ्नो पक्षमा पारिसकेको छ।


