काठमाडौँ- नेपालको शहरी क्षेत्रमा अझै पनि १८.३४ प्रतिशत गरिबी रहेको छ। ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताएका छन्।
सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ। सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेश (३४.१६), कर्णाली प्रदेशमा (२६.६९), लुम्बिनी प्रदेशमा (२४.३५) र मधेश प्रदेशमा (२२.५३) छ। गण्डकी प्रदेशमा (११.८८), बाग्मती प्रदेशमा (१२.५९), र कोशी प्रदेशमा (१७.१९) रहेको छ।


