काठमाडौँ- सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइ योङसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा डेरी भिलेज उद्घाटन गरेका हुन्।
डेरी भिलेज उद्घाटनका अवसरमा किसानलाई होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको थियो। गत वर्ष पुसमा हेफर इन्टरनेसनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो। यसपालि बाच्छी वितरण गरिएको हो।
तीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन गाईले जन्म दिएको ‘खाम्सा’ नाम राखिएकी बाच्छी कोरियाली राजदूत योङले उमा सुवेदीलाई हस्तान्तरण गरेका थिए।
डेरी भिलेजले उपहार दिने नयाँ नियम पनि चलाएको छ। उपहार अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गरेका किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अर्को किसानलाई दिनुपर्छ।
कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको हो ।
दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र उच्च प्रजननमान भएका ८ वटा होलिस्टिन बहर उपलब्ध गराएको थियो।
सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए। हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी ५ वर्षमा ५ सय किसानलाई ती कोरली गाई वितरण गर्ने लक्ष्य छ।
कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो। कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत वीर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो।















