फिक्कल (इलाम)- डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३–१ गोलअन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले बुधबार उपाधि हात पारेको हो। मानेभञ्ज्याङले अघिल्लो संस्करणमा समेत मिक्लाजुङ मोरङलाई रोक्दै उपाधि जितेको थियो।
खेलको २२ औँ मिनेटमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफको दोस्रो मिनेटमा मानेभञ्ज्याङकी सुस्मिता लेप्चाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। तर, सातौँ मिनेटमा झापाकी कुमारी तामाङले गोल गर्दै खेल २–१ मा ल्याइन्। मानेभञ्ज्याङकी खेलाडीले फाउल बनाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तामाङले सजिलै जाली चुमाएकी थिइन्। तर त्यो गोल बराबरीका लागिसमेत पर्याप्त भएन। इन्जुरी समय पुनः दार्जिलिङकी सिम्रन गुरुले गोल गरी टिमलाई ३–१ को जितमा उपाधि दिलाइन्। उता झापाले पनि खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै घर फर्कन बाध्य बन्यो।
राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको दुवै टिमका खेलाडीको खेल प्रदर्शन निकै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो। सुरुआती अग्रता लिएको मानेभञ्ज्याङलाई रक्षात्मक खेल नै उपाधिका लागि पर्याप्त भयो। उता सुरुआतमा दुई गोल खाएको झापाका लागि सोही गोल बाधक बनेको थियो।
फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भइन् उनले नगद ५ हजार प्राप्त गरेकी छिन् उपाधिसँगै विजेता मानेभञ्ज्याङले नगद ३ लाख १६८ सहित ट्रफी हात पा¥यो। उपविजेता बनेको झापाले नगद २ लाख १६८ मा चित्त बुझायो।
किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६८ औँ जन्मोत्सवको अवसरमा आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा माघ २४ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र भुटानका आठवटा महिला टोलिको सहभागिता रको थियो।


