काठमाडौँ- आईसीसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्यान्डसँग खेल्ने भएको छ। नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको यो दोस्रो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने योजनामा छ।
नामिबियाविरुद्धको पहिलो खेलमा टोली बाहिर रहेका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले आजको खेलमा पुनरागमन गर्न सक्नेछन्।
नामिबियाविरुद्धको खेलमा दिपेन्द्र युएईमा जारी आईएल टी २० मा थिए। ऐरी गल्फ जायन्ट्समा आवद्ध थिए। उनी शुक्रबार राति नै नेपाल फर्किएका छन्। उनको आगमनले नेपाली टोली थप बलियो बन्नेछ।
उता नेदरल्यान्ड्स भने नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा हुनेछ।


