काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार देखि शुक्रबार सम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।


