ललितपुर- प्रजातन्त्र दिवस (सोमबार)देखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार ५ वटा प्रतिवेदन पेस भएका छन्।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन गरेका हुन्।
खड्काले आफ्नो प्रतिवेदनमा कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले गर्नुपर्ने नीतिगत निर्णय समावेश भएको जिकिर गरेका छन्।
‘जिम्मेवार नेपाली कांग्रेस : समुुन्नत देश’ नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काको जिकिर छ। ‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ।’
महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने उल्लेख गरेका छन्।
‘पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौँ । अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ,’ महामन्त्री थापाको प्रतिवेदनमा उल्लेख छ।
महामन्त्री थापाले विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरेका छन्। उनले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउनुपर्ने प्रस्ताव पनि पारितका लागि पेस गरेका छन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताएका छन्।
उनले एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताएका छन्।
पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात गर्ने उल्लेख गरेका छन्। आर्थिक वृद्धि र न्यायोचित वितरण, उत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको उल्लेख छ। अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको उनको भनाइ छ।
त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको प्रतिवेदनमा लेखेका छन्।
कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराए।
कांग्रेसको आयव्ययसम्बन्धी विवरण मात्र भएको घिमिरेको प्रतिवेदनले राष्ट्रिय रूपमा तात्विक फरक पार्दैन। तर देशको सबैभन्दा ठूलो दल भएको र देशका ७६१ मध्ये अधिकांश स्थानमा महत्वपूर्ण हिस्सा लिएको कांग्रेसका बाँकी चार प्रतिवेदनमा भने आम जनता र राष्ट्रिय रूपमा नै महत्वपूर्ण हुनपर्ने हो। तर यी चारै प्रतिवेदनमा कुनै तादात्म्यता छैन।
आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा खड्का प्रतिवेदन मौन छ। सभापति देउवाको धारणाअनुसार आएको प्रतिवेदनले चुनावी कुरा गर्न रुचि राखेको छैन। शर्मा प्रतिवेदनको निष्कर्ष चुनाव हुनुभन्दा २-४ दिनअघि गठबन्धन गर्नुपर्ने दिशाकेन्द्री छ। थापा प्रतिवेदन कुनै पनि हालतमा चुनावअघि गठबन्धन गर्न नहुने पक्षमा छ।
महत प्रतिवेदनले आफूले अर्थतन्त्र सम्हालेपछि देशमा ‘स्वर्णयुग’सुरु भएको अतिशय दाबी गरेको छ। ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ नाम दिइएको प्रतिवेदनमा ‘भावी कार्यदिशा’ शीर्षक दिइएपनि तात्विक रूपमा कुनै अर्थ-राजनीतिक प्रतिवेदनको छाँट देखाएको छैन।
शर्माको प्रतिवेदनमा समसामयिक राजनीतिक शक्तिहरूको चित्रण गरिएको छैन। काल्पनिकतामा रमेको प्रतिवेदनलाई कवितात्मक लय दिन खोज्दा राजनीतिक प्रतिवेदनका तत्व विलय छन्। खड्का प्रतिवेदनले कांग्रेसको राजनीतिक नीतिलाई डोहोर्याउने कुनै अस्त्र प्रस्तुत गर्न सकेको छैन। यसर्थ यी प्रतिवेदनहरू जस्ताको तस्तै पारित भएपनि नीति महाधिवेशन अघि र पछिको कांग्रेसमा खासै भिन्नता देखिने संकेत छैन।
दुई मन्त्री (खड्का र महत)का प्रतिवेदनमा सरकारले राम्रा काम गरेको दाबी गरिएको छ। दुई महामन्त्री (थापा र शर्मा)का प्रतिवेदनमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले विलकुलै राम्रो काम गर्न नसकेको भनिएको छ। मन्त्रीका प्रतिवेदनमा प्रचण्ड सरकारको गुणगान छ भने महामन्त्रीका प्रतवेदनमा आलोचना छ। कांग्रेस महासमितिमा प्रस्तुत प्रतिवेदनमा यी लगायतका विषयमा विरोधाभासको भण्डार छ।
कांग्रेसमा छलफलबाट प्रतिवेदनमा आमूल सुधारको अपेक्षा अधिकांश महासमिति सदस्यले गर्दैनन्। कांग्रेस आफैँले पार्टीलाई रुपान्तरण गर्न सक्ने संकेत नगरेका प्रतिवेदन पारित भए देश र जनताको रुपान्तरण गर्ने भन्ने आशालाई अझ कमजोर बनाउने संकेत गरेको छ।
महासमिति बैठकमा पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुने भनिएको छ। नीति महाधिवेशनको समेत काम गर्ने भनिएको महासमिति बैठक फागुन १० गते सम्पन्न गर्ने तालिका छ।
