काठमाडौं- नेपाल ‘ए’ क्यानडा ११ सँग ४ विकेटले पराजित भएको छ। योसँगै तीन खेलको एकदिवसीय क्रिकेट शृंखला क्यानडाले २–१ ले जितेको छ। सिरिज जित्न नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो।
क्यानडाका लागि ओपनर आरोन जोन्सनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे। अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्न सफल रहे। दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट भए। निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए। धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए। नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए।
क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।


