काठमाडौँ- इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क)मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सरकारको परामर्शमा उपचुनावको मिति तोकेको हो।
प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो।
निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ।
स्थानीय तहको निर्वाचनमा भने आयोगसँगको परामर्शमा सरकारले तोक्नुपर्ने कानुनी व्यवस्था छ। स्थानीय तहमा थुप्रै स्थानमा रिक्त भएपनि त्यसका लागि सरकारले निर्णय जुटाएको छैन।


