काठमाडौँ- त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन्। त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए।
स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे। तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए।
बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।


