काठमाडौँ- त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो।
औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो योगफलतर्फ पुर्याए।
कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित नटआउट ५४ रनको योगदान दिए। आक्रामक सुरुवात गरेका उनको डेथ ओभरमा भने ठूलो सट खेल्ने प्रयास सफल हुन सकेन।
ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने। उनले २ बलमा १ रन जोडे । कप्तान रोहित ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए।
ओपनर अनिल शाह सातौं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए। त्यसको २ बलपछि गुलशन झा पनि आउट भए। १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।
पाँचौ विकेटका लागि आरिफ र कुशलले ८५ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफलतर्फ लम्काए । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए । १७ औं ओभरमा ब्रेसलविरुद्ध ठूलो सट खेल्ने धुनमा उनी डिप मिड विकेट बाउन्ड्रीमा फ्रिलिंकको हातबाट समातिए ।
दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे। करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए।


