काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ।
नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ। जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए। यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो।
नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ। नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनी ५५ रनमा नट आउट रहे।
७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। आरिफ ३१ रनमा आउट भए।
सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन्। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए।
दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए।


