काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ।
सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले प्रदेश र केन्द्रमा नयाँ समीकरण बनाएर जाने निर्णय गरेको हो।
‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ। मन्त्रिपरिषद् र राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ,’ बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ।’
एमाले सहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको जिकिर छ।
‘अहिले पार्टी एकताको कुरा त चलेको छैन। यो कदमले त्यस दिशातिर लैजान्छ। वामपन्थी ध्रुवीकरणतिर लैजान यो कमल चालिएको हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’
उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताए।
‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने हाम्रो निर्णय छ। विप्लवजीलाई पनि समेट्छौँ। यसमा एमाले पनि सकारात्मक नै छ,’ उनले भने।


