काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका छन्।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. केशरसिंह रानालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । तत्कालीन उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको चारवर्षे कार्यकाल सकिएपछि यो विश्वविद्यालय फागुन १९ गतेदेखि उपकुलपतिविहीन थियो ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी सहप्राध्यापक कर्णबहादुर थापालाई दिइएको छ । यहाँ पनि तत्कालीन उपकुलपति प्रा.डा. अमरराज जोशीको कार्यकाल फागुन १९ गते सकिएको थियो।
पूर्वाञ्चल विश्वविद्यालयमा डा. शैलेशमणि पोखरेललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । यस विश्वविद्यालयमा तत्कालीन उपकुलपति प्रा.डा. यादवप्रसाद कोइरालाको कार्यकाल गत फागुन १९ गते सकिएको थियो।
यस विश्वविद्यालयका उपकुलपतिका लागि भने निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले माघ अन्तिम साता आवेदन आह्वान गरेको थियो। त्यसका लागि १८ जनाले विश्वविद्यालय सुधारको सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाउनुभएको थियो तर आवेदकको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छैन।


