जनकपुरधाम- महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने जनाउँदै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताएका छन्।
दलित महिला केन्द्र नेपालको आयोजनामा शनिबार धनुषाको लालगढमा भएको ‘लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी धार्मिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रका अगुवासँग भएको अन्तक्र्रियामा उनीहरूले महिलाको विकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
महिला सवल नभए परिवार र परिवार बलियो नभए समाज र राष्ट्र नै कमजोर हुने भन्दै उनीहरूले लैङ्गिक तथा सामाजिक असमानता हटाउन तयार हुनुपर्नेमा जोड दिए। ‘महिला शक्ति कमजोर हुनु भनेको समाजका सबै क्षेत्र कमजोर हुनु हो। त्यसैले विगतका रुढीवादी मानसिकता बदलेर महिलाको सवल नेतृत्व विकासमा जोडदिनु पर्छ’, उनीहरूले एकस्वरमा भने।
कार्यक्रममा धार्मिक अगुवा दुर्गाप्रसाद खनालले धर्मशास्त्र र विशेष गरी नारी शक्तिको पूजा गर्ने संस्कृति रहेको हिन्दू धर्मावलम्बीले त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताए। ‘महिला र पुरुषको सहकार्यबिना समाज विकासको कल्पनासमेत गर्न सकिँदैन तर विगतमा सुझबुझको अभावमा महिलामाथि अन्याय भएको छ। त्यसैले अब हामी धर्मगुरूहरूले अगाडि सरेर वास्तविक सन्देश फैलाउन लाग्नुपर्छ’, उनले भने। उनले विगत ४२ वर्षदेखि पण्डित्याइँ कर्म गर्दै आएका खनालले समाजमा जातीय, महिला तथा पुरुषबीचको असमानता हटाउन सकारात्मक पहल भएको पाइए पनि अझै धेरै सुधारका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित राधाकृष्ण मन्दिरका पण्डित बच्चुकैलाश पोखरेलले धर्मशास्त्रले महिला र पुरुषबीच विभेद नगरेका कुरा आफूहरूले समाजमा फैलाउन भूमिका बढाउने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी बौद्ध धर्मावलम्बी हैत्यसिंह गुञ्जनले बौद्धधर्ममा महिला र पुरुषबीच विभेदको कुरा नरहेको उल्लेख गर्दै असल पक्षलाई अनुशरण र गलत पक्षलाई अस्वीकार गर्न सबैले सचेत हुनुपर्छ भने।
मिथिलिा नगरपालिका–६ स्थित महेन्द्र माविका प्रधानाध्यापक रामकुमार महतोले समाजमा रहेका गलत परम्परा, सोच र शैलीका कारण महिलालाई अगाडि बढ्न अवरोध भइरहेको जनाउँदै त्यसलाई परिवर्तन गर्न घरबाटै सहगोगी वातावरण बनाइनुपर्नेमा जोड दिए।
‘पच्चीस वर्षअघि मैले अध्यापक सुरु गर्दा एउटा कक्षामा पाँचजना छात्रा पनि पाउँदैनथ्यौँ तर अहिले धेरै छात्रा पढ्न आउने गरेका छन्। त्यो क्रम समाजका अरू क्षेत्रमा पनि देख्न सकिन्छ’, उनले भने, ‘अब त्यसको गुणात्मक सुधार र सवल नेतृत्व निर्माणमा महिलाहरूले विशेष ध्यान दिनुपर्छ। त्यसमा हामी सबै पुरुष, सामाजिक, धार्मिक, राजनीतिक तथा शैक्षिक क्षेत्रको भूमिका अझ बढी महत्त्वपूर्ण हुनसक्छ।’
सामाजिक अगुवा सुशीला सुवेदीले पुरुषले गरिदिएर मात्रै नहुने भन्दै आफ्नो अधिकारका लागि महिलाले पनि सबैलाई विश्वासमा लिएर जान सक्नुपर्ने धारणा राखे।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं कार्यक्रमका प्रशिक्षक धर्मेन्द्र झाले मधेस प्रदेशमा अहिले पनि लैङ्गिक असमानता, विभेद, दाइजो प्रथाजस्ता कारणले महिला अझ बढी प्रताडित भइरहेका जनाउँदै त्यसविरूद्ध सबैले सकारात्मक भूमिका खेल्न सक्नुपर्ने बताए। उनले प्रथा, परम्परा, गलत धार्मिक मूल्य मान्यताका आधारमा हुने महिला हिंसा रोक्न समाजका अगुवाहरूले नै आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ भने।
‘हामी माता कालि दुर्गा, सरस्वती, लक्ष्मीलगायतलाई पुज्ने धर्मसंस्कारबाट प्रशिक्षत छौँ तर यही समाजमा महिलामाथि हुने उत्पीडन रोक्न सकिरहेका छैनौँ। यो विरोधाभाष शोभनीय होइन। त्यसैले तपाईँ हामी अगुवाहरूले विभेदका खाडल पुर्न योगदान गर्नुपर्छ’, अध्यक्ष झाले भने।
त्यस्तै, दलित महिला केन्द्र नेपालका संस्थापक अध्यक्ष गौरा नेपाली र संस्थाका कार्यकारी निर्देशक तेजेन्द्र लामाले महिलाविरोधी चिन्तन, मान्यता, प्रथा–परम्परा र धर्म–संस्कारसँग जोडिएका गलत पक्षहरूबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा सहभागीहरूले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ मधेस प्रदेशका अध्यक्ष सोम शर्मा, द एसिया फाउण्डेसनका अञ्जु विश्वकर्मा, पत्रकार विनोद महतो, नेपाल प्रहरीका सतिकुमारी घिसिङ, सामाजिक अभियन्ता, शोभा माझी, सामाजिक मेलमिलापकर्ता मीरा दाहाललगायतले महिलालाई अवसर दिएमा गर्न सक्छन् भन्ने कुरा प्रमाणित भइसकेको जनाउँदै आपसी सहयोग र सहअस्थित्वको भावनाले अगाडि बढ्न अपिल गरे।


