ललितपुर- ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।
आइतबार नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा व्यञ्जनकारको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
आइतबार नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल पुर्याइएका उनको अस्पतालमा नै मृत्यु भएको हो।
व्यञ्जनकार लगातार १० पटक ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए।
गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग नरसिंह पराजित भएका थिए।
व्यञ्जनकार २०२९ सालदेखि २०७९ सम्म लगातार वडाध्यक्ष बनेर सेवा गरेका थिए।
२०२९ को चुनावमा कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएर उनी वडाध्यक्षमा स्वतन्त्र रूपमा विजयी भएका थिए।
२०३४ सालमा चुनाव नभएपनि ‘गाँउ फर्क अभियान’ले उनलाई वडाध्यक्ष चुनेको थियो।
२०३९ सालको स्थानीय चुनावमा निर्विरोध निर्वाचित भए। प्रधानपञ्चसँग विवादका कारण उनले राजीनामा दिएका थिए।
उक्त स्थानमा २०४१ सालमा उपचुनाव भयो। उपचुनावमा पनि नरसिंह नै विजयी बनेका थिए।
२०४३ सालको चुनाव भने उनका लागि पनि अनौठो अनुभव चुनाव भएको थियो। चुनाव नजिकिँदै गरेको बेलामा वडावासीले नै उनलाई ज्वागलबाट समातेर हनुमानस्थान पुर्याएका थिए। ‘निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्न राजी छु’ भन्ने कागजातमा नरसिंहलाई सही गर्न लागएर वडाबासीले छोडेका थिए। उक्त निर्वाचनमा पनि उनी निर्विरोध विजयी भएका थिए।
०४९ को चुनावमा १० नम्बर वडाका लागि कांग्रेसबाट टिकट पाए। त्यसपटक पनि निर्विरोध विजयी बने।
२०५४ सालमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवार बनेर विजयी भए।
०५८ सालमा तत्कालीन शाही सरकारबाट उनी वडाध्यक्षमा मनोनयनमा परेका थिए।
२०६२ सालमा भएको नगर निर्वाचनमा पनि उनी विजयी भए। तर ५ महिनामा नै निर्वाचितहरू विघटित भए। लामो समय स्थानीय तहको निर्वाचन भएन।
२०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेर उनी विजयी बनेका थिए।


