काठमाडौँ- खेलाडी पलायनले कमजोर बनेको नेपाली फुटबललाई आधार मान्ने हो भने सोमबार साँझ दशरथ रंगशालामा देखिएको खेललाई रोमाञ्चक मान्नुपर्छ। नेपाली फुटबलमा नाम चलेका त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दीबीचको खेलमा सुरुका केही मिनेटमै आक्रमणका राम्रा प्रयास भए।
यद्यपि आजको खेलको पहिलो हाफ गोलरहित बराबरीमा अडियो। दास्रो हाफमा सुदिल राईले गोल गरेपछि भने आर्मीले अग्रता बनायो र १–० को संघर्षपूर्ण जित निकाल्यो।
‘महत्वपूर्ण तीन अंक लिन सकियो। यो धेरै राम्रो अंक पनि हो। त्यही क्लबबाट चार पटक ए डिभिजन लिगको उपाधि जितेको थिएँ। बलियो क्लबविरुद्ध अंक लिनु राम्रो कुरा हो,’ जितपछि खुसी देखिएका आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने।
मनाङका प्रशिक्षक किरण श्रेष्ठले चाहिँ राम्रो प्रदर्शन भएपनि हार भएको बताएका छन्। उनका अनुसार सेट पिसको गोलले घाटा भएको हो। ‘पहिलो हाफदेखि नै नराम्रो होइन राम्रो खेलेको हो। दोस्रोमा पनि राम्रो भन्नुपर्छ तर सेट पिसमा गोल खायौँ,’ खेलपछि मनाङका प्रशिक्षक किरणले भने, ‘फिजिकल्ली खेल हेर्दा, अस्तिको दुई खेलभन्दा अलिकति फरक र राम्रो खेलेको थियो।’
लिगमा दुई हार खेपिसकेको मनाङ र तीन हारको सिकार भएको आर्मी दुवै तालिकोको शीर्षस्थानतिर जान चाहन्छन्। आर्मीले त उपाधि जित्ने नै योजना बनाएको थियो। त्यसैले पनि यी दुवै टिम आजको खेलमा हार बेहोर्न चाहँदैनथे।
खेलको १३औं मिनेटमा मनाङका कमल थापाले डिबक्स छेउबाट गरेको सुन्दर प्रहार गोलकिपरको हातमा पुगेर रोकिएको थियो। त्यसको अर्को मिनेटमै आर्मीले फ्री किक पायो। जगजित श्रेष्ठले सिधै पोस्टमा प्रहार गरे पनि बललाई गोलकिपर दिप कार्कीले बचाएका थिए।
लिगमा दुई हार खेपिसकेको मनाङ र तीन हारको सिकार भएको आर्मी दुवै तालिकोको शीर्षस्थानतिर जान चाहन्छन्। आर्मीले त उपाधि जित्ने नै योजना बनाएको थियो। त्यसैले पनि यी दुवै टिम आजको खेलमा हार बेहोर्न चाहँदैनथे।

त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दीबीचको प्रतिस्पर्धा।
सायद त्यसैले होला जर्सी नम्बर ३३ मा सजिएका विकास खवासलाई मनाङका फरवार्ड कोफी टिमोथीलाई रोक्न सहज भएन। उनले राइट ब्याकमा खेलभरी संघर्ष गर्नुपर्यो। मनाङले पटक पटक बल अट्याकिङ थर्डमा त पुर्याउँथ्यो तर गोल गर्न चुक्थ्यो।
‘पहिलो हाफमा लागभग राम्रो नै मुभमेन्ट बनाएको हो। डाइरेक्ट प्लेमा जान खोजका थियौँ। विदेश खेलाडीका उचाई प्रयोग गर्न खोजेको हो,’ मनाङका प्रशिक्षक किरणले आफ्नो टिमको विश्लेषण गरे, ‘आज, अट्याकिङ थर्डमा बल नपुगेको पनि होइन। क्याल्कुलेसन गर्दा पुगेकै देखिन्छ। तर फिनिसिङ गर्न नसकेको भने हो। आर्मीले पनि एक गोल गरेको त हो – सेट पिसमा। हामी चाहीँ डिबक्समा कमजोर देखियौँ।’
यता भरत खवासलाई मिडफिल्डमा उतारेर चार खेलाडी अगाडि राखेको आर्मीले पनि गोलका अवसर नपाएको भने होइन। तर, बललाई जालीसम्म पुर्याउन लामै समय पर्खिनु परेको थियो। उसका क्रसहरु नै सही ठाउँमा पुग्न सकिरहेका थिएनन्।
खेलको ६१औं मिनेटमा आर्मीका दिनेश हेन्जनले बायाँ साइडबाट निकै शक्तिशाली प्रहार गरेका थिए। तर गोलकिपर कार्कीले मैदानबाहिर पठाइदिए।
‘आज मनाङले खासै अवसर बनाउन नसक्नु नै हाम्रो प्लस पोइन्ट भयो। अस्ति खुमलटारसँग खेल्दा उसको अट्याकले दबाब दिएको थियो। आज हामीलाई कम दबाब भयो र अवसर सिर्जना पनि भए। नवयुगको गोल हुने अवसर थियो तर भएन,’ खेलपछि आर्मीका प्रशिक्षक न्यौपानेले भने।
सुरुका अवसरमा गल्ती गरे पनि ७५औं मिनेटमा आर्मीले गल्ती गरेन। गोललाई नजिकैबाट जिवन गुरुङले ब्लक गरेपछि फर्किएको बललाई सुदिल राईले गोल गरे। जगजितले प्रहार गरेको फ्रि किकलाई जीवनले ब्लक गरेका थिए।
‘हामीले पोसेसन पहिलेबाट नै होल्ड गर्न सक्यौँ,’ न्यौपानेले भने, ‘तीन जना डिफेन्स हुँदा पनि राइट समयमा गोल निस्कियो। एक गोल बचाएको हो। आज चाहिँ हानेको गोल बचाएको हो। १५ अंक भयो। अहिले केही रिलिफ भएको छ।’

जितपछि त्रिभुवन आर्मीका खेलाडी।
इन्ज्युरी समयमा सुदिल राईको प्रहार भने नजिकैबाट गोलकिपर कार्कीले मुस्किलले रोकेका थिए। खेलको अन्तिम समयसम्म पनि मनाङले गोल फर्काउन सकेन। ८२औं मिनेटमा कोफी टिमोथीको प्रहार पनि गोलकिपर विकेश कुथुले रोकेका थिए। बाँकी प्रहार पनि रोकिए। अहिले मनाङ खराब अवस्थाबाट गुज्रिरहेको छ।
एक समय लिगमा राज गरेको मनाङ मर्स्याङ्दी क्लब यसरी डाउनफल हुनुले उसका समर्थकलाई निराश पक्कै बनाएको छ। तर उसको योजना सुरुबाटै लिग जित्ने त थिएन नै। तर ६ खेलसम्म हार्न नपरेपछि आशा भने जगाएको भने थियो।
‘योजना नबनाए पनि लिग जित्छ कि क्या हो?’ भनेर समर्थकले भन्न थालिसकेका थिए। तर पछिल्ला तीन खेलमा लगातार हार खेपिरहेको छ।
‘टिम डाउनफल भइरहेको छ। हाम्रो परिवर्तन भन्दा पनि डिफेन्डर घाइते हुँदै गइरहेको छ। रिकभरको लागि १० दिन जति लागिहाल्ला। सेड्युल टाइट भएर असर गरिरहेको छ। समय चाहिन्छ,’ प्रशिक्षक किरणले भने, ‘लक्ष्य भन्ने कुरामा, सुरुमा पाँच खेल राम्रो खेलेपछि आशा धेरै भएको हो। मेरो टिम ठिकै मात्र हो। लक्ष्य भनेको मध्य टेबलमा रहने नै हो।’
खेल सुकनुभन्दा पाँच मिनेटअघि मनाङका प्रवेश कुँवर घाइते भई मैदानमा ढलेका थिए। आर्मीका भरत चौधरीसँग ठोक्किएर मैदानमा लडेका उनलाई तत्कालै अस्पताल लगिएको थियो। उनको टाउकोमा चोट लागेको छ।



