काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) मैदानमा उत्रिदै छन्।
नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ।
मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो। टस जितेर पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि १२१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई १२४ रन बनाउँदै फाइनलमा पुगेको हो। पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्याएका थिए।
त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि ११३ रनमात्र बनाउन सकेको थियो।


