काठमाडौँ– नेपाली कांग्रेसले तनहुँ, चितवन र बाराका नेता–कार्यकर्तामाथिको गरेको कारबाही फुकुवा गरेको छ। कांग्रेसको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार विज्ञप्ति जारी गर्दै २०७४ साल र २०७९ सालमा भएका निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेका सबै नेता–कार्यकर्तामाथिको कारबाही फुकुवा भएको जनाएका छन्।
‘२०७४ साल र २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रश्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारवाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारवाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारवाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ,’ ढुंगानाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
कांग्रेसले पार्टी अनुसशानको कारबाही फुकुवा भएका नेता–कार्यकर्ता चितवन–२ र तनहुँ–१ र बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिएको छ।
‘पार्टी अनुशासनको कारवाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सम्पूर्ण साथीहरुले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ–१ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन–२ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा–२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहन समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ,’ ढुंगानाले भनेका छन्।



