काठमाडौँ– बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अवैधानिक तवरबाट निजी बनाउन संलग्न भएको आरोप लागेका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि ‘राजनीतिक स्टन्ट’ गरिएको आरोप लगाएका छन्।
सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बिहान बयान दिएपछि उनले यस्तो आरोप लगाएका हुन्।
राज्यले आफूमाथि राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए।
उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताए।
यस्तो छ उनको भनाइ
हिजो गोप्य पत्रको नाममा म संसदमै थिएँ। संसदमा हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको पत्र जुन रुपले देशभरका सबै सञ्चारमाध्यमहरू रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्नेकुरा स्पष्ट भएको स्थिति छ।
ममाथिको अनुसन्धानको कुरा चल्ने बित्तिकै मैले रोस्टममा उभिएर देशको नीति, निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारै पनि बनाउने सबैभन्दा महत्त्वपूर्ण फोरममै निर्वाचित प्रतिनिधि सभाको सदस्यको हैसियतले आफ्ना कुराहरू राखेँ।
मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो। म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हिसाबटबा म यहाँ सहयोग गर्न उपस्थित भएँ।
४२ वर्षअघि बाँसबारी जस्तो अनाकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ।
४२ वर्षअघिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्दथ्यो होला भन्नेकुरा सबैले बुझेका छन्, नेपालभर। यो देशकै एकमात्र हजारौँ रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने रुपले मुलुकभर नै विभिन्न विगत १४० वर्षदेखि र अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभर नै र हाम्रो विभिन्न परियोजना गर्ने रुपले यो १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपजबाहेक केही पनि होइन।
मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले, एउटा उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतले, एउटा विचार र राजनीतिककर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरेँ। मैले कहिले पनि दलगत राजनीतिको पक्षमा अकारण गलत प्रवृत्तिलाई कहिले पनि प्रश्रय दिइनँ। दलहरूका बीचका आपसी मतभेद, जोडघटाउमा सरिक भइनँ। त्यस हिसाबले आफूलाई प्रोफेसन र विकासप्रेमीको हैसियतले फोरममा उभ्याएँ।
तर आज यो इस्युमा भने राजनीति गर्ने, राजनीतिकरण गर्ने, उद्यमलाई राजनीति गर्ने, एउटा उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने कुरा स्पष्टसँग देखियो। अहिले अत्यन्त कठिन परिस्थिति भएर गुज्रिरहेको नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरू रोज आउने गर्दछन्।
यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरका र विश्वभर रहेका नेपालका युवाहरूले, नेपालका उद्यमीहरूले, रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने हो। मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन।









