काठमाडौं– चैत १७ गते शुक्रबारको साँझ दशरथ रंगशालामा रेफ्रीले खेल सुरु भएको जनाउ सिठ्ठी फुके। मैदानमा थिए- नेपाल र लाओस। प्रतियोगिताको नाम थ्री नेसन्स कप। घरेलु मैदानमा समर्थक लाओस् विरुद्ध नेपालको हौसला बढाइरहेका थिए। राष्ट्रिय टिममा खेलिरहेका खेलाडी धमाधम पलायन भइरहेको बेला थियो, त्यो। यस्तो बेला राष्ट्रिय टिमको नतिजा के होला? चिन्ता स्वभाविक थियो। सँगै नेपाली टोलीलाई सम्हाल्न आइपुगेका थिए, भिन्सेन्जो अल्बर्टो एनेस। नेपालको राष्ट्रिय टिममा उनको डेब्यू कस्तो रहला? कौतुहलता पनि त थियो। यी नै दुई प्रश्न रंगशाला भित्र र बाहिरका समर्थकको दिमागमा डेरा जमाइरहेको हुनुपर्छ।
तर, रेफ्रीले सिठ्ठी फुकेको छैटौं मिनेटमा नेपालका आयुष घलानले उत्कृष्ट कौशल दखाए। लेफ्ट विंगबाट उनले गरेको क्रस सुन्दर थियो। उनको क्रसमा पोस्टअघि रहेका भरत खवास हेडरको लागि उफ्रिए। तर उनको प्रयास भने सपल हुन सकेन। फुटबल सरल खेल हो, यो जो कोहीले बुझ्न सक्छ। र जो कोहीले खेल्न पनि। फुटबल जितहार गोलले गर्छ। तर गोल मात्रै फुटबल होइन। मैदानमा खेलाडीले देखाउने कौशलले रोमाञ्चकता भरिदिन्छ। र, खेलाडीले ९० मिनेट भित्र गर्ने हरेक मुभमेन्ट, देखाउने कौशल, आक्रमण र प्रतिरक्षाको संयोजन नै त हो फुटबल। त्यस्तै रोमाञ्चकता थियो-आयुषले छैटौं मिनेटमा निकालेको क्रसमा। त्यसो त दुई खेलअघि (घरेलु लिग) पनि उनले यस्तै क्रस गरेका थिए। जुन, खेलमा आयुषले क्रस गर्दा मनिष डाँगी बलसम्म पुग्नै सकेका थिएनन्।
लाओसविरुद्धको खेल ६०औं मिनेटमा चल्दै थियो। आयुष विपक्षी टिमका चार खेलाडीले घेरिएका थिए। तर, उनले विपक्षीको घेरा तोडेर बल डी-बक्सबाहिर रहेका मनिषलाई सहजै उपलब्ध गराए। ७७औं मिनेटमा लामो बललाई चलाखीपूर्ण नियन्त्रण गरेर अट्याकिङ थर्डमा नआत्तिकनै पास दिए। यस्तो कला नेपाली खेलाडीले कमै मात्र देखाउने गरेका छन्। त्यसैले त आयुषको खेल हेर्नेहरुले भन्न थालेका छन्- सानै उमेरमा उनी राम्रा बनिसके। उनी खेलिरहेको क्लब संकटाका प्रशिक्षक सल्यान खड्गीको भनाइ भन्ने हो भने आयुष उदाउँदा तारा हुन्। जुन बेला एन्फाभित्रको राजनीति र खेलाडी पलायनको मार नेपाली फुटबलले भोगिरहेको छ। त्यो बेला आयुष जस्ता खेलाडीको उदय नेपाली फुटबल मन पराउने जो कोहीका लागि सुखद् भने पक्कै हो।
‘आयुषको उमेर २० वर्ष पुग्न बाँकी छ। तर, एकदमै राम्रो खेलाडी बनिसकेजस्तो लाग्छ। उदाउँदो ताराको रूपमा लिन सकिन्छ,’ खड्गी भन्छन्।
आयुषको अर्को खासियत विपक्षीको पासमा रहेको बल सहजै खोस्ने कला पनि हो। भुटानविरुद्धको खेलको ३१औं मिनेटमा उसकै डी-बक्सबाहिर नवयुग श्रेष्ठले गुमाएको बल सहजै खोसिदिएर उनले आफ्नो कलालाई प्रमाणित गरेका थिए। उनको यो कला त हरेक खेलमा देख्न पाइन्छ।

१९ नम्बरको जर्सीमा आयुष। तस्बिर : एन्फा
पोजिसनिङ, ड्रिबलिङ र बल नियन्त्रणमा नेपाली फुटबलका कलात्मक खेलाडी बनेका छन् आयुष। पोस्टअघि पुगेपछि अन्धाधुन्दा प्रहार गर्ने नेपाली खेलाडीमा पुरानो बानी नै छ। त्यसैले पनि धेरै प्रहार बाहिर जाने वा क्लियर हुने गरेका छन्। आयुषले खेलमा यस्ता कुरालाई पनि ध्यान दिएको देखिन्छ। लाओस विरुद्ध खेलको इन्ज्युरी समयमा उनले नवीन लामाको क्रसमा सिधै पोस्टमा प्रहार गरेनन्, कारण उनी अघि लाओसका डिफेन्डर थिए।
नियन्त्रणमा लिएर उनले बललाई दुई पटक प्रहार गर्न खोजे। दुवै पटक रोकिने सम्भावना भयो। तेस्रो पटकमा गोललाइनमा पुग्नै लागेपछि उनले प्रहार गरे। बल डिफेन्डरबाट फर्केर आए पछि सहजै नियन्त्रण गरे र पोस्टअघि रहेका मनिषलाई दिए। मनिषको प्रहार अविश्वसनीय रुपमा पोस्टमाथिबाट बाहिरियो। यही खासियतका कारण उनका हरेक खेल निकै रोमाञ्चक बन्न थालेका छन्।
‘उनको यस्तै कौशलले नै हो- राष्ट्रिय टिममा परेको पनि। उनले चाहेअनुसारको खेलिरहेका छन्। उनको खेल धेरै राम्रो छ,’ प्रशिक्षक सल्यान भन्छन्। लाओसविरुद्धको पहिलो खेलको १८औं मिनेटमा उनले कसरी विपक्षी टिमका डिफेन्डरलाई छक्याएर बल निकाले, त्यो दशरथ रंगशाला पुगेर फुटबल हेर्ने दर्शकले पक्कै ख्याल गरेको हुनपर्छ।
जब उनको टिम गोलले पछि परेको हुन्छ, यस्तोमा टिम नै दबाबमा हुन्छ। त्यो पेचिलो दबाबबीच पनि बल र खुट्टाको तादम्यता मिलाउनु कठिन काम हो। तर, आयुषका लागि भने यो सहज काम हो। किनकी दबाबकाबीच आयुषले कसरी आफूलाई नियन्त्रण गरेर बललाई हिँडाइरहन्छन्, त्यो दर्शनीय हुन्छ। यस्तै कुराले हुनुपर्छ, अहिले नेपाली फुटबलमा आयुषको ड्रबलिङको खुबै चर्चा भइरहेको छ।
यद्यपि मैदानमा उनी यदाकदा आलोकाचोपन पनि देखाउँछन्। उनी खेललाई लयमा राख्ने कुरामा कुनै-कुनै बेलामा भने मज्जाले चुक्छन्। भुटानविरुद्ध ७१औं मिनेटमा उनले पोस्टअघि पाएको बललाई पनि गोल गर्न सकेनन्। कहिलेकाही लिगमा पनि यस्तै हुन्छ। उनी फितलो प्रहार गरिदिन्छन्।

आयुषको त्यस्तो कमजोरीलाई प्रशिक्षक खड्गीले ‘अपरिपक्वता’ भनेका छन्। ‘मेच्युरिटी कम छ। मेच्युरिटी बढ्यो भने राम्रो हुँदै जानेछ। झिनो समस्या यो नै हो। ऊ कहिले डाउनफल भइरहेको हुन्छ, कहिले अप पनि,’ उनले भने।
नेपाली राष्ट्रिय टिमको पछिल्ला तीन खेलमा नै युवा विंगर तथा अट्याकिङ मिडफिल्डर आयुषले ९० मिनेट खेले। यद्यपि नेपाली फुटबलमा उनको यात्रा सुरु भएको धेरै लामो समय भने भएको छैन।
दुई वर्षअघि दशथर रंशालामा भएको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट केही मिनेट खेल्न पाएका आयुषलाई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिपेर राष्ट्रिय टिमसम्म पुर्याएका थिए। त्यसपछि उनले अस्ट्रेलियाविरुद्ध डेब्यू गरे।
त्यो शानदार डेब्यूपछि उनी राष्ट्रिय टिममा खेलिरहेकै छन्। साफ च्याम्पियनसिपमा त उनले गोल पनि गरेका थिए। अर्को एक खेलमा उनले गरेको गोल भने अन्तर्राष्ट्रिय गोलमा गणना हुँदैन। लाओसविरुद्धको खेल उनले गोल गरेका थिए, तर त्यो गोल गन्तीमा आउँदैन। किनकी थ्री नेसन्स कपको फाइनल खेल फिफाको क्यालेन्डर अन्तर्गत थिएन।
नेपालका सर्वाधिक गोलकर्ताले समेत १३ गोल मात्र गरेको देशका लागि दुई गोल (ओमान र लाओस विरुद्ध) गन्ती नहुनु निकै ठूलो कुरा हो। तर उनलाई आफ्नो गोलको भन्दा पनि टिमको जित र हारसँग धेरै मतलब हुन्छ। आफ्नो प्रदर्शनबारे पनि उनी खासै बोल्दैनन्। जारी सहिद स्मारक लिगको पछिल्लो खेलमा उनी प्लेयर अफ दी म्याच भए। त्यसपछि उनलाई आफ्नो खेलबारे बोल्न लगाइयो। उनले भने, ‘मेरो खेल भन्दा पनि आज आफ्नो टिमले तीन अंक जितेको हो। ड्रामाटिक खेल भएको थियो। त्यसमा हामीले खुबै मेहेनेत गरेका थियौँ। अनि जित निकालेको हो।’ त्यो खेलमा उनले धेरै ‘फल ड्र’ गरेका थिए। त्यसमध्ये एकमा संकटाले पेनाल्टी जितेको थियो।

राष्ट्रिय टोलीमा आयुष (१९ नम्बर जर्सी)।
आजभोलि जब बल उनको खुट्टामा पर्न थालेको छ, उसै समर्थकको ध्यान उनले खिच्न थालेका छन्। जसरी उनले बललाई मैदानमा नचाउँदछन्, त्यो लोभलाग्दो दृश्य हेर्न फुटबल समर्थक लालयित हुन थालेका छन्।
थ्री नेसन्स कपको फाइनलमा एरिकबाट पाएको पासलाई उनले गोलमा बदलेको क्षण निकै रोमाञ्चक थियो। तर आयुष सन्तुष्ट थिएनन्। ‘अपसेट थिएँ। किनभने जित भए पनि अझै धेरै लिड गर्न सकेको भए राम्रो हुने थियो,’ उनले प्रतियोगिता सकिएपछि भनेका थिए।
आयुष कपको ‘बेस्ट प्लेयर’ चुनिएका थिए। त्यो भनेको तीन देशमध्येका उत्कृष्ट खेलाडी भन्ने नै हो। त्यो पल सायद उनको खेलजीवनको एउटा यादगार पल मध्येको एक हुने। तर दु:खको कुरा नेपालमा अहिले खेलाडी पलायनको लहर चलिरहेको छ। यस्तोमा कतै पलायनको लहरमा आयुष पनि जोडिने त होइनन्? शंकाको सुविधा हुने भइगयो। तर, उनी व्यावसायिक खेल खेल्नेमा विश्वास राख्छन्।
‘आफ्नो भविष्य आफैं बनाउने हो। अरुको भविष्य हेरेर अघि बढ्नु भन्दा पनि आफ्नो लागि आफूले बाटो बनाउनु पर्छ। किरण दाइ, अन्जन दाइ, रोहित दाइको प्रदर्शन हेरेर अघि बढ्न सकिन्छ। उहाँहरुबाट शिक्षा लिएर हार्डवर्क गर्ने हो भने नेपालमा नै राम्रो हुन्छ जस्तो लाग्छ,’ उनले भने।
राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस पनि प्रतिभावान युवा खेलाडीबारे निकै मोहित देखिन्छन्। आयुष, मनिषजस्तै खेलाडीलाई संकेत गर्दै उनले भनेका छन्, ‘केही नेपाली खेलाडीले विदेशमा पनि खेल्ने अवस्थाको सिर्जना हुनुपर्छ।’ तर, ए डिभिजन लिगको फर्म्याटबारे उनी चिन्तित छन्। ‘दुईदुई दिनमा खेल हुने भएकाले रिकभरीका लागि समय नै हुँदैन,’ उनले थपे, ‘लिगमा कसरी खेल्न सक्लान् खै!’

यता संकटा पनि आयुषबाट यस्तै प्रदर्शन चाहन्छ। ‘उसले राम्रो खेल्ने भएर नै उच्च मूल्य तिरेर क्लबले अनुबन्ध गरेको छ,’ प्रशिक्षक सल्यान भन्छन्, ‘खेलमा मात्र होइन, अभ्यासमा पनि उनको स्वभाव राम्रो छ। मैले सिकाउने कुरा एक ठाउँमा छँदैछ। टिमसँग सहकार्य गर्ने कुरा मुख्य हो। हामीले सोचेको चाहिँ उसले राम्रो प्रदर्शन गरोस् भन्ने नै हो।’
सहिद स्मारक लिगको पहिलो खेलमा आयुषले आर्मीविरुद्ध बेञ्चमै बिताए। किनभने त्यो बेला सुनिल बल लगायतका राम्रा खेलाडी थिए टिममा थिए। तर बललगायतका खेलाडी विदेश उडे। दोस्रो खेलमा भने उनले सुरुबाट ५७औं मिनेटसम्म खेलेका छन्।
अर्को खेलमा फेरि उनले अवसर पाएनन्। तर, चौथो खेलमा उनले झन्डै पूरा समय खेले। ८८ मिनेटसम्म उनलाई प्रशिक्षकले मैदानमा खेलाए।
त्यो खेलसम्म उनले गोल गर्न सकेका थिएनन्। त्यसपछि पनि उनले गोल त गरेका छैनन्, तर मैदानमा उनको प्रदर्शन उत्कृष्ट हुन्छ। र राम्रा अवसरको सिर्जना उनैले गर्दै आएका छन्। मछिन्द्रविरुद्ध मनिष डाँगीले गोल गर्दा आयुषले नै पास मिलाइदिएका थिए। नवौं चरणको खेलमा उनले एपीएफविरुद्ध पेनाल्टी जिते। त्यही पेनाल्टीको सहयोगमा संकटाले जित निकालेको थियो। त्यो खेलमा त हो उनी म्यान अफ दी म्याच भएका।
‘एकदमै खुसी लागेको छ। धेरै महत्वपूर्ण खेल थियो। जितसँगै हामीले अंकतालिकामा पनि सुधार गरेका छौ,’ जितपछि उनले भनेका छन्। मनिष र आयुष राम्रो विंगर टिमले पाएको छ। तर प्रशिक्षक सल्यान खड्गी भने बीचबाटै अट्याक गर्न रुचाउँछन्। के आयुषलाई पनि मिडफिल्डबाट खेलाउने सोच छ त ? ‘उसको प्रपर पोजिसन भनेको विंगर नै हो। टिमको फर्मेसन अनुसार उसलाई कहिले मिडमा पनि प्रयोग गर्न सकिन्छ। अट्याकमा पनि रहन सक्छन्। उसको स्थान भनेको नम्बर ११ मा नै हो,’ प्रशिक्षक सल्यान भन्छन्, ‘अरु खेलाडीलाई पनि उसले गरेको काम देखेर प्रेरणा मिल्छ। पोजेटिभ भाइब्स चाहिँ आउँछ। विस्तारै समय अनुसार उसले अझै राम्रो गर्दै जानेछन्।’

विश्व फुटबलका ‘राजा’ मानिने पेलेले पुर्तगाली भाषामा वर्णन गरेअनुसार फुटबल भनेको ‘जोगो बनिटो’ हो। ‘जोगो बनेटो’ अर्थात् सुन्दर खेल। र, त्यही सुन्दर खेलका उम्दा खेलाडी हुन्, आयुष।



