काठमाडौंँ- मिटरब्याज पीडितहरूमाथि वैशाख ४ गते प्रहरी दमनविरुद्ध मार्च पास गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगुवाईमा मार्च पास गरिएको हो।
काठमाडौँको रत्नपार्क शान्तिबाटिकास्थित शंखधर उद्यानबाट संसद् भवनसम्म मार्चपास गरिएको हो। मार्चपासमा पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका मन्त्रीहरूविरुद्ध नाराबाजी गरेका थिए। ‘मन्त्रीज्यु दिमाग जचाऊ’, ‘काजीसाप गफ तिम्रा बडाबडा’लगायतका व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए। गृहमन्त्रीले बल प्रयोग गरेर चिप्ला कुरा गरेको भन्दै पीडितहरू आक्रोशित छन्।
मिटरब्याजीलाई कारबाहीको माग गर्दै राजधानी आएका पीडितमाथि शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेको प्रहरीले अमानवीय दमन गरेको भन्दै विरोध भइरहेको छ।
शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट गरेको थियो। मिटरब्याज पीडितमाथि यसरी बल प्रयोग गर्नु मानव अधिकारको गम्भीर हनन भएको आन्दोलनको ठहर छ। घटनाका दोषीहरूमाथि कारबाही गर्न माग गर्दै मार्चपास गरिएको हो।










