पाल्पा- सद्भावनाको पर्व होली आइतबार देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ।
यस्तै पाल्पाका केही स्थानमा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाइएको छ। पाल्पाको ऐतिहासिक स्थल माडीको लालपाटी, चिदीपानी, रिब्दीकोटको भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहराको सोमादी सर्देवामा मौलिक फागु पर्व मनाउने गरिन्छ। परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–२ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ।
यो वर्षदेखि सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरी होली मनाइएको स्थानीयवासी दीपेन्द्र ढकालले बताए। माथागढी गाउँपालिकाको चिदीपानीमा परम्परागत मौलिक फागु नाच टोलटोलमा देखाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताए। चिदीपानीमा परम्परादेखि प्रचलनमा रहेको फागु नाच नाचेर होली पर्वमा रमाइलो गरिएको छ।
पाल्पाकै तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभन्ज्याङ लगायतका स्थानमा पनि टेम्को, ढोलक, खैजडी, मजुरा लगायत बजाएर फागु नाचिएको छ। पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पुर्णिमाको चार पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ।












–नेपाल फोटो लाइब्रेरी


