काठमाडौँ- जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को गए राति भएको खेलमा मुम्बई हैदराबादसँग पराजित भएको छ। हैदराबादले ३१ रनले जित निकालेको हो। यो हैदराबादको लगातार दोस्रो जित हो भने मुम्बईको दोस्रो हार हो।
हैदराबादले इतिहासकै ठूलो योगफल बनाएको थियो। यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। उक्त कीर्तिमान हैदरावादले तोड्दै हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो।
जितको लागि २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २४६ रन बनायो। मुम्बईका तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६४ रन बनाए। ईशान किशन १३ बलमा २ चौका र ४ छक्कासहित ३४, रोहित शर्मा २६, नमन धिर ३० र हार्दिक पान्ड्या २४ रनमा आउट भए।
टिम डेविड २२ बलमा २ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे। हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए।
हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे। एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे। चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए।
हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले। अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए।
ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए।
हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १÷१ विकेट लिएका थिए।


