गलकोट (बागलुङ)- कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा ३ लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ।
‘गन्तव्य बागलुङ कालिका : कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ आयोजना हुने चैते दसैँ मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो।
समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ। खेलमा द्वितीय हुने समूहलाई १ लाख ५० हजार र तृतीय टोलीलाई १ लाख प्रदान गरिनेछ। सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई ५ बाट पुरस्कृत गरिने छ।
आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ।
राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद २ लाख पुरस्कार र द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।


