काठमाडौँ- नेपाल ‘ए’ ले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो। त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ। सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ।
पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो। अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो।
नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए। पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ।
नेपालको मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न सकेका थिएनन्। नेपालले आज फिनिसर नारायण जोशीलाई मौका दिनसक्छ। १४ महिनापछि क्रिकेटमा फर्किएका कमलले तीन विकेट लिंदै राम्रो प्रदर्शन गरेका थिए। बलिङमा भने केही सुधार गर्नुपर्ने देखिन्छ।
उता पिटर मुर आयरल्यान्डका प्रमुख ब्याटर हुन्। उनले पहिलो खेलमा ४९ रन बनाएका थिए। स्टेफन डोहेनी, निल रक र ग्यारेथ डेलानी पनि राम्रो ब्याटर हुन्।
आजको खेल जित्न सके नेपाल ‘ए’ले सिरिज जित्ने सम्भावना कायम राख्नेछ भने हारेको अवस्थामा सिरिजको एक खेल बाँकी छँदै पराजित हुनेछ। सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
टी-२० सिरिज सकिएलगत्तै चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ।
क्यानले ४० जना खेलाडीबाट टी-२० र एकदिवसीय खेल्ने टिम छानेको थियो। एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारीले गर्नेछन्।
टी-२० खेल्ने नेपाल ‘ए’ मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।
त्यस्तै एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।


