मोरङ- भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो।
सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए। यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए।
मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पु¥याएका थिए।
निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पु¥याएका हुन्। उनी उक्त खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए। तामाङले ११ हजार पुरस्कार प्राप्त गरेका छन्।
सोमबार चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुनेछ। प्रतियोगिताको विजेता टोलीले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ।
प्रकाशित: २०८० चैत १९ गते सोमबार ०६:३५