काठमाडौँ- लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए। विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए। नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६(६ रनमा आउट भए।
स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए। थोमस मेयर्स र फिन ह्यान्डले २/२ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएके थियो।
आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए। अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए। पिटर मुर १७ रनमा आउट भए।
नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए। रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए।
नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो। पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनम अल आउट भएको थियो। उक्त खेलमा म्याथ्यु हम्फ्रेजले ६ विकेट लिएका थिए। अन्तिम नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ।


