काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो।
यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो। नेपाल प्रतियोगिताको साविक विजेता पनि हो।
नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो।
कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए। मोहमद अनाफले २३ रन बनाए भने अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले।
उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए। पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन्।
युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए। दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए।
नेपालका लागि ओपनर आसिफ शेखले पनि ५२ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका हिर्काए। त्यस्तै कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए। उनले दुई चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए। कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए।


