प्रतिनिधि सभामा रिक्त बनेका तीन क्षेत्रमा नयाँ सांसद चुन्नका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान जारी छ।
बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूमा सुरु भई जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्।
आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ।
मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको आयोगले जनाएको छ।
चितवन-२ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन्। श्रेष्ठले कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान मतदान गरे। चितवन- २ का ४३ मतदानस्थलका १३८ केन्द्रमा मतदान जारी छ।
यो क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता छन्। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन्।
यो क्षेत्रबाट २२ उम्मेदवार चुनावी मैदानमा छन्।
गत निर्वाचनबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि पुनः मतदान भइरहेको हो। मतदानको समयमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन्।
उता बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पनि मतदान गरेका छन्। महागढीमाई नगरपालिका-२ बरैयाटोलस्थित स्वास्थ्य चौकीको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। कुशवाहा सोही ठाउँका स्थानीय बासिन्दा हुन्।
बारा-२ का अर्का उम्मेदवार उपेन्द्र यादवको मतदाता नामावली सुनसरीमा रहेकाले उनले आफूलाई मतदान गर्न पाउँदैनन्। यो क्षेत्रमा ३४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
तनहुँ–१ मा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि नयाँ सांसद चुन्न मतदान जारी छ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन्। एमाले उम्मेदवार सर्वेन्द्र खनाल र रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेको यो क्षेत्रको मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन्। तनहुँ-१ मा १ लाख २३ हजार ३५० मतदाता छन्।









