काठमाडौँ- माओवादीले अपहरण गरी हत्या गरेका कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग भेट गरेकी छन्।
बिहीबार लामिछानेलाई भेटेर रमिलाले आफू र आफ्नो परिवारका लागि सुरक्षाको व्यवस्था गरिदिन गृहमन्त्रीसँग आग्रह गरेकी हुन्।
हत्याको १६ वर्षपछि आरोपी रहेका माओवादीको तत्कालीन जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खाम पक्राउ परेका हुन्। उनी पुर्पक्षका लागि जेल चलान भए छन्। खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको भनाइ छ।
जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने बताएका थिए।
२०६५ वैशाख १५ गते राती माओवादी नेता गोविन्दबहादुर बटालासहितको टोलीले रामहरि श्रेष्ठलाई अपहरण गरेका थिए।
बटालाको भनाइअनुसार २०६५ वैशाख ३१ गते बिहान रामहरि श्रेष्ठलाई केशव अधिकारी र गंगाराम थापाले कुटपिट गरी मरणाासन्त अवस्थामा पुर्याएका थिए।
यसपछि उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भएको थियो। उनको शव गोविन्दबहादुर बटालाले नारायणी नदीमा फालिदिएका थिए।
घटनापछि प्रहरीको नजरमा कालीबहादुर खामसहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा अनि संकल्प भनिने अर्जुन कार्की फरार भएका थिए। एटम खामकै अंगरक्षक हुन्।
बटाला पक्राउ परे। उनले कुटपिट र हत्याको दोष केशव अधिकारी र गंगाराम थापामाथि थोपरेर आफू निर्दोष रहेको बयान दिए।
फरार रहेका सवारी चालक अर्जुन कार्की पछि अदालतमा उपस्थित भए। गाडी चलाउने बाहेकका काम आफूले नगरेको उनले बयान दिए।
फरार रहेका सबैको फाइल मुल्तवीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गर्यो । पहिलोपटक २०६८ साल जेठ १७ गते भोलानाथ चौलागाईंको इजलासले बटालालाई ३ वर्ष कैद फैसला गर्यो।
६ महिनापछि मंसिर २० गते भोजराज अधिकारीको इजलासले अर्जुन कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिमानाको फैसला सुनाइदियो।
३ वर्ष सजाय पाएका गोविन्दबहादुर बटालाले आफू निर्दोष भएको दाबी गर्दै पुनरावेदनमा गए भने कार्की र बटाला दुवैलाई कम सजाय भएको भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो। पुनरावेदन अदालतले बटाला ज्यान मुद्दामा संलग्न भएको भनी दाबी पुग्न नसकेको निष्कर्ष निकालेको थियो।
उतिबेला फरार रहेका खामको मुद्दा मुल्तवीमा राखिएको छ।


